यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली बने डाक्टर यादव

 असार २३, २०७८ बुधबार १०:३१:६ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कार्यरत डाक्टर रवीन्द्र कुमार यादव यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बन्नुभएको छ ।

आठ वर्षदेखि यूएईमा कार्यरत उहाँले हिजो मंगलबार  यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा पाउनु भएको हो । यसअघि यो भिसा कोही पनि नेपाली नागरिकले पाएका थिएनन् ।

संयुक्त अरब एमिरेट्स (यूएई) सरकारले केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरूलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो ।

सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डा. यादव अहिले आबुधावीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रूपमा कार्यरत हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमबिबिएस उत्तीर्ण गर्नुभएका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गर्नुभएको हो । काठमाण्डौको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रूपमा काम गरिसक्नु भएका उहाँले सन् २००२ मा यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रूपमा पनि काम गर्नुभएको छ । 

यसैबिच यूएईमा कार्यरत थप २८ जना नेपालीले पनि  गोल्डेन भिसाका आवेदन दिएका छन् । 

नेपालस्थित यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जनाएको छ ।

यूएईले आफ्नो देशमा योगदान दिएका विदेशी नागरिकलाई गोल्डेन भिसा दिएर सम्मान गरिरहेको र त्यसमा नेपाली नागरिकले समेत अवसर पाउनु गर्वको विषय भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । 

अहिलेसम्म डाक्टर यादव बाहेक अन्य नेपाली नागरिकले गोल्डेन भिसा पाएको बारे औपचारिक रूपमा दूतावासलाई जानकारी नआएको राजदूत ढकालले जानकारी दिनुभयो । दूतावासका अनुसार यूएईमा कार्यरत कति नेपालीले गोल्डेन भिसा पाए भन्ने विषयमा यहाँको माथिल्लो निकायमा सोधपुछका लागि पत्राचार गरिसकिएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया