मनोपरामर्शपछि आत्मविश्वास बटुलेकी मिना भन्नुहुन्छ – ‘म छु र पो संसार छ’

 पुस २१, २०७८ बुधबार १२:५६:२९

प्रजिना बाँठामगर, राेल्पा ।

विश्वमा कोरोना भाइरस आउनुभन्दा अघिसम्म रोल्पा नगरपालिकाकी ३३ वर्षीय मिना बुढाको दैनिकी गाई बाख्राको स्याहार, खेतबारीको काम, छोराछोरीको हेरचाहमा बित्थ्यो ।

घरको काम सकेपछि कतारमा कार्यरत श्रीमानसँग कुराकानी गरेर दुःखसुख साट्नुहुन्थ्यो । परदेशी भूमिमा भए पनि श्रीमानको काम र कमाइ राम्रो थियो त्यो बेला । परदेशी भूमिमा राम्रो कमाउने भनेर आफन्तहरूले पनि खुब इज्जत गर्थे ।

तर एक दिन मिनाको घरको मियो कतारमै ढल्यो । त्यसपछि ढलेको मिनाको आत्मविश्वास मनोपरामर्शपछि पुनः बलियो भएको छ ।

कथा कतारको

२०७६ फागुनमा मिनाका श्रीमानकाे  स्वास्थ्यमा समस्या देखिन थाल्यो । एक्कासि सास फेर्न गाह्रो भयो भनेपछि मिनाले घर फर्कन आग्रह पनि गर्नुभयो तर मानेन् । 

‘म आफै घर फर्के कसले कमाउँछ, परिवार कसरी चल्छ भन्नुभयो’ श्रीमानसँग भएको कुरा सम्झँदै मिना भन्नुहुन्छ ‘उपचार त्यहाँको भन्दा यहाँ राम्रो हुन्छ म निको भइहाल्छु भन्नुहुन्थ्यो' मिना सुनाउनुहुन्छ । तर उपचारले पनि छोएन ।

श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, घाँटी दुख्ने भएको सुनाउनुभयो श्रीमानले मिनालाई । तर अस्पतालको रिपोर्ट भने सामान्य खालको नै थियो ।

डाक्टरको दवाइले नछोएपछि  मिनाले गाउँमै धामी झाँक्री गर्दा निको हुन्छ कि भनेर त्यो पनि गर्नुभयो । तर निको भएन । उपचारकै क्रममा २०७६ फागुनको २६ गते उहाँको श्रीमानको कतारमै ज्यान गयो ।

श्रीमानले कतारमा प्राण त्यागेको केही हप्तामै नेपालमा पनि कोरोनाका कारण लकडाउन सुरु भयो । कमाउने जमाउने सपना बुन्दा बुन्दै मिनालाई श्रीमानको शव पर्खेर बस्नु पर्ने परिस्थिति आइपर्‍यो ।

मिनाको लागि त्यो समय निकै कठिन थियो । आफ्नो श्रीमान् गुमाउनुको पीडा र भविष्यको छटपटीले मिनालाई टाउको दुख्ने, निद्रा नलाग्नेजस्तो समस्या हुन थाल्यो । 

 ‘राति निन्द्रा नलाग्ने, खान मन नलाग्ने, शरीरमा शक्ति नभएको जस्तो महसुस हुने, पेट पोल्ने,  शरीर झमझमाउने, मलाई त केही पनि गर्न मन लाग्दैन’ मिनाले भन्नुभयो । 

सामीमार्फत नियमित परामर्श

मीनाकाे भेट सुरक्षित आप्रवासन (सामी) परियोजनाका मनोपरामर्शकर्तासँग  भयाे । सुरुमा समस्याबारे खसै नखुले पनि मिनाले विस्तारै मन खाेल्दै जानुभयाे । त्यसपछि उहाँले परियाेजनामार्फत नियमित रूपमा मनाेपरामर्श सेवा पाउनुभयो ।

मनोपरामर्शकर्तासँगको नियमित भेटघाट र परामर्शपछि पहिलेजस्तो निद्रा नलाग्ने, चिन्ता मात्र हुने, खान मन नलाग्नेजस्ता समस्याहरू कम भएको मिनाले बताउनुभयो । विस्तारै मिना सामान्य दैनिकतर्फ अघि बढ्नुभयाे । 

हुन त श्रीमान् गुमाउनुको पीडा भुल्न चाहेर पनि भुल्न सकिँदैन । तर मनमा पीडा छ भनेर मानिस पीडामा डुबेर मात्र बस्न पनि सक्दैन । मनोपरामर्शपछि अहिले मिना सामान्य जीवनयापन गरिरहनुभएकाे छ ।

वैदेशिक रोजगार बोर्डबाट प्राप्त ७ लाख र बिमाबाट पाएको १४ लाख रुपैयाँमा १० लाख रुपैयाँ थपेर उहाँले जिल्ला अस्पताल नजिक तीन तले घर बनाउनुभएको छ । घर भाडाबाट आउने मासिक ३० हजार रुपैयाँलाई उहाँले छोराछोरीको पढाइखर्च जुटाइरहनुभएको छ । खेतबारीमा तरकारी फलाउनुभएको छ । बाख्रा पालन पनि गरिरहनुभएको छ । 

४० हजार रुपैयाँमा बोयर जातका दुई बाख्रा किन्नुभएको छ । बाख्रालाई बढाउँदै लैजाने उहाँको सोच छ । अहिले उहाँ आफ्नो दुःख, पिर, चिन्ता व्यवस्थापन गर्न सक्ने हुनुभएको छ ।

आफ्नो तनाव व्यवस्थापनमा मनोपरामर्शकर्ताले पुर्‍याएको सहयोग कहिल्यै बिर्सन नसक्ने उहाँ  बताउनुहुन्छ । कठिन परिस्थितिबाट अहिले सामान्य अवस्थामा आउनुभएकी उहाँ भन्नुहुन्छ, ‘म छु र पो संसार छ ।’  

(प्रजिना बाँठामगर सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत रोल्पामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । यो परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

तपाईको प्रतिक्रिया