काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
पुष्पा गाैतम
सिरहाको लाहान नगरपालिकाकी बिनिता कामती (नाम थर परिवर्तन)ले श्रीमान वैदेशिक रोजगारीमा गएपछि केसम्म भोग्नुपरेन । छरछिमेकले कुरा काट्ने थाले । आफ्नै परिवारका सदस्यबाट कुटाइ खानुपर्यो । आफ्नै श्रीमानले पनि शंकाले हेर्न थाले । कुरा गर्न बन्द गरे । घरमा पैसा पठाएनन् । यस्तो भएपछि बिनितालाई अब बाँचेर के गर्ने भन्ने सम्म लाग्न थाल्यो ।
वि.स. २०७२ सालमा बिनिताको र अनिल कामती (नाम थर परिवर्तन)को मागी बिहे भयो । पहिलो पटक छोरा जन्मेपछि वि.स. २०७३ सालमा अनिल वैदेशिक रोजगारीको लागि कतार जानुभयो । कतारमा दुई वर्ष कमाइले परिवारको दैनिक खर्च मात्र टर्यो । तर वचत भएन । परिवारको बढ्दो खर्च, भविष्य र छारोको पढाइ यी सबै व्यवहारको चिन्ता थपियो । वि.स. २०७५ सालमा बिनिताले माइतीसँग एक लाख पचास हजार रुपैयाँ ऋण खोजेर अनिललाई स्थानीय एजेण्ट मार्फत मलेशिया पठाउनुभयो ।
अनिलले मलेसिया गएको दुई वर्ष बितिसक्दा पनि ऋण तिर्न सक्नुभएन । न त घर व्यवहारको लागि खर्च नै पठाउनुभयो । बिनितासँग फोन गर्दा पनि शंका गरेर बोल्ने, मेरो फोन नउठाएर तँ कोसँग बसेकी छस् भन्ने र फोनबाट नै झगडा गर्ने गर्न थाले । तँ मेरो घर छोडेर गइहाल्, म घरमा आउँदा तँलाई देखँे भने मारिदिन्छु सम्म भने ।
अनिल एघार वर्षको हुँदा आमा र बुबाको निधन भएको थियो । परिवारका एक्लो छोरा अनिलको, ठूलो बुवा र काकाको परिवारको सगोलमा बसाइ छ । घरको अगाडि फर्केको दुईकोठे टिनको छाना लगाएको घर अनिलको हो । अनिल विदेश गएपछि बिनिताको बसाइ पनि त्यसमै भयो ।
बिनिताको श्रीमान् अनिलले काका र ठूलोबुवाको घरमा फोन गरेर बिनिताको हालखबर सोध्न थाले । उनीहरुले बिनिताको बारेमा नभएको कुरा सुनाएको हुँदा बिनितासँगको अनिलको सम्बन्ध बिगँ्रदै गयो । अनिलसँग सम्बन्ध बिग्रिन सुरु भएदेखि बिनिताको सासुससुराका परिवारसँग पनि दैनिक रुपमा झगडा हुन थाल्यो ।
छिमेकको परुषहरुसँग कामको लागि सहयोग लियो वा बोल्यो भने आरोप लगाउने, किन बोलेको, किन कामको सहयोग लिएको भनेर ससुराहरुले कुट्ने पिट्ने गर्न थाले । आफन्तहरुले नै लाञ्छना र कुटपिट गर्न थालेपछि छरछिमेक र समाजले पनि हेला गर्न थाले । कामको सिलसिलामा बजार गयो भने चिटिक्क परेर कता हिँडी, यसको बजारमा केटा छ भन्न थाले । जसले गर्दा बिनितालाई आफूले जिन्दगीदेखि नै हारेको महसुस हुनथाल्यो ।
श्रीमान्, घरपरिवार, छिमेक र समाजको व्यवहारका कारणले बिनिता घरमै बस्न थाल्नुभयो । ज्यालामजदुरीको काम नगरेपछि आर्थिक समस्या बढेसँँगै मानसिक समस्या थपियो ।
अब मेरो यस संसारमा केही छैन भनेर बिनिताको मनमा आत्महत्याको सोच आउन थाल्यो । त्यही क्रममा बिनिताको भेट वडाअध्यक्षसँग भयो । वडाध्यक्षमार्फत सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालित मनोपरामर्श सेवासँग जोडिनुभयो बिनिता ।
मनोपरामर्शकर्तासँग पहिलोपटक बिनिताको भेट हुँदा उहाँ निकै दुब्लो हुनुहुन्थ्यो । कुराकानी गर्दा पनि रोइरहने । बिस्तारै मनोपरामर्शकर्ताले बिनिताको मनको कुरा बुझ्दै उहाँलाई सम्झाउन थाले । बिनिताका दुःख र गुनासा सुने । आत्महत्याको सोच बनाएर बस्नुभएकी बिनितालाई छोराछोरीको भविष्य के होला भन्दै सम्झाए । कतै आश र कतै डर देखाएर बिनितालाई सम्झाउने काम मनोपरामर्शकर्ताले गरे ।
यस्तै मनोपरामर्शकर्ताले घरेलु हिंसा र कुटपिटको कानुनी अवस्थाको बारेमा पनि जानकारी गराए । यस्तो अवस्थामा पालिकामा रहेको न्यायिक समितिमा जान मिल्ने सल्लाह दिए । यति सम्झाइबुझाइ गरेपछि बिनिता पनि सासुससुराले कुटपिट गर्दा प्रतिकार गर्न सक्ने हुनुभयो ।
मनोपरामर्श सेवामार्फत बिनिताको आत्मबल बढाउने कार्यको साथसाथै श्रीमान्सँगको सम्बन्ध र व्यवहार पनि सुधार्ने प्रयास गरियो । यसको लागि सहयोगी स्रोत खोज्ने क्रममा बिनितासँग भएको सीप पहिचान गरि त्यसमै लाग्न सल्लाह दिनुभयो । सिलाइकटाइ जानेकी बिनितालाई त्यसैलाई पेसा बनाउन सुझाव दिए । बिस्तारै बिनिता आशावादी बन्न थाल्नुभयो ।
‘जसले म हारेको हेर्न चाहान्थे तिनीहरुलाई जितेर देखाउँछु’, मनोपरामर्शकर्तासँगको कुराकानीमा बिनिताले भन्नुभयो, ‘जिन्दगी भइन्जेल समस्या त आउँछन्, तर समस्यालाई व्यवस्थापन गर्न सक्नुपर्दोरहेछ ।’
आफ्नो केही गल्ती नभए पनि समाजमा शिर झुकाउनुपरेको भन्दै अब यही समाजको अगाडि शिर ठाडो पारेर हिँड्ने अठोट पनि गर्नुभयो ।
अहिले बिनिताले आफ्नै घरमा माइतीको सहयोगमा किराना पसल खोल्नुभएको छ । साथसाथै सिलाइकटाइको कामलाई पनि निरन्तरता दिनुभएको छ । अहिले बिनिताको दैनिकी सामान्य ढंगले बितिरहेको छ । कसैले नराम्रो नजरले हेर्दैनन् । कुरा काट्नेहरुले कुरा काट्न छाडेका छन् । कसैले कुरा काटिहाले पनि बिनितालाई उनीहरुका कुराले मन दुख्दैन । अहिले बिनिता मानसिक रुपमा बलियो बन्नुभएको छ ।
पहिले जसले बिनिताको मन दुखाएका थिए उनीहरुले आफूले गरेको व्यवहारको लागि माफी पनि मागेका छन् । बुहारीको प्रगति भएकोमा सासुससुराका परिवार पनि खुसी छन् । जसले पहिले अनिललाई फोन गरेर कुरा लगाइदिन्थे उनीहरुले उल्टै बिनितालाई सहयोग गरिरहेका छन् । अरुको कुरा सुनेर गरेको व्यवहार मैले गर्न नहुने रहेछ भनेर अनिलले पनि बिनितालाई भडियो कल गरेर माफी मागिसक्नुभएको थियो । गएको पुसमा अनिल परदेशको काम छाडेर घर फर्किनुभयो । अहिले दुवै जना मिलेर पसल चलाउँछन् । एकले अर्कालाई काममा सघाउँछन् ।
विगतका दिन सम्झिँदै बिनिता कतिबेला भावुक बन्नुहुन्छ । आफूलाई मानसिक चिन्ता हुँदा जीवनदेखि हारेको महसुस भएको र मनोसामाजिक परामर्शकर्ता भेटिएपछि आफूले अर्को जीवन पाएकोझैँ भएको उहाँ बताउनुहुन्छ ।
‘सामाजिक लाञ्छनाले मदेखि टाढिएको समाज मनोपरामर्शले गर्दा फेरि मसँगै जोडिएको छ’, बिनिता भन्नुहुन्छ, ‘आफूलाई समस्या पर्दा आफूसित भएको क्षमताको पनि ख्याल नहुने रहेछ । यदि मनोपरामर्शकर्तासँग कुराकानी गरेर परामर्श सेवा नलिएको भए मैले जीवनदेखि हारिसकेकी हुने थिएँ ।’
(पुष्पा गौतम सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत लहान नगरपालिकामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय परियोजना हो ।)