बेलारुसमा ९ नेपाली महिला अलपत्र, स्वदेश फर्काउन सरकारसँग माग

 चैत ३, २०७९ शुक्रबार १०:३५:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ ।

विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्क्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएको भन्दै खतिवडाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । 

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो । 

अलपत्र पर्नेमा नुवाकोटकी सानुमाया तामाङ, कविता थापामगर, रामेछापकी अञ्जना मगर, धनकुटाकी रत्नमाया राई, मकवानपुरकी पार्वतीमाया तितुङ, भोजपुरकी रमिता राई, काभ्रेकी सुष्मा तामाङ, चितवनकी मीना गुरुङ र मोरङकी मार्था सोताङ राई हुनुहुन्छ ।

यसैबिच एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका महिलाको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा बेलारुसमा नौ नेपाली महिलालाई लामो समयदेखि अलपत्र पारिएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया