विद्युतीय राहदानी सम्बन्धी सेवा दिन राहदानी विभागको टोली पोर्चुगल जाने

 चैत ३, २०७९ शुक्रबार ११:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विद्युतीय राहदानीको लागि तथ्याङ्क सङ्कलनका गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ ।

विभागको टोलीले यही चैत १५ गतेदेखि त्यहाँ रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वयमा विद्युतीय राहदानीको बायोमेट्रिक डाटा सङ्कलन गर्ने फ्रान्समा रहेको नेपाली दूतावासले जनाएको छ । पोर्चुगलको लिस्वनमा दूतावासको प्रतिनिधिसहित राहदानी विभागको टोली त्यहाँ रहेको नेपालीका लागि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने छन् ।

अनलाइनमार्फत लाइभ इनरोलमेन्ट गरी अपोइन्टमेन्ट लिइसकेकाहरूको मात्र बायोमेट्रिक लिने काम विभागको टोलीले गर्ने छ । अनलाइनमार्फत समय लिइसकेकाहरूले फारम भर्दा प्राप्त भएको बारकोडसहितको फारम प्रिन्ट गरी एक प्रति साथमा लिएर जानुपर्छ । 

साथमा सक्कल नेपाली नागरिकता र त्यसको फोटोकपी एक प्रति, नाबालिगको हकमा जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचयपत्रको सक्कल र फोटोकपी एक प्रति साथमा लैजानुपर्छ भने आमा र बाबु दुवैको नागरिकताको प्रमाणपत्र पनि आवश्यक पर्छ । 

पुरानो राहदानीको सक्कल र फोटोकपी एकप्रति, राहदानी हराएको भएमा प्रहरी प्रतिवेदनको एक प्रति, पोर्चुगलमा रहेको प्रमाण जनाउने कागजातजस्तै आवास अनुमति पत्रसहितको भिसाको प्रति पनि आवश्यक पर्छ । 

राहदानी नष्ट भएको र पोर्चुगलमा जन्मिएका नाबालिकहरुको लागि अप्रिल २४ र २५ मा टोलीले सेवा दिने छ भने अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिएका। राहदानी क्षति भएकाहरूका लागि मार्च २९, ३०, ३१ र अप्रिल २ मा टोलीले सेवा दिने दूतावासले जनाएको छ । 

यस्तै राहदानी हराएका व्यक्तिहरूको लागि अप्रिल ३, ७, ९, १४, १६ र १८ मा र राहदानीको म्याद सकिएकाहरुलाई अप्रिल २० २१ रु २३ मा सेवा प्रदान हुनेछ ।

पोर्चुगलमा बस्ने नेपालीहरूले मड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली दूतावासबाट पनि राहदानी लिन सक्ने छन् । 

तपाईको प्रतिक्रिया