वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता रकम वृद्धि गरिने

 चैत ९, २०७९ बिहिबार १२:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकले पाउने आर्थिक सहायताको रकम बढाउने भएको छ ।

अहिले प्रदान गरिरहेको रकम समय सापेक्ष नभएको भन्दै यसलाई बढाउन बोर्डले आवश्यक तयारी गरिरहेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

‘अहिले भएको व्यवस्था संशोधन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न हामी काम गरिरहेका छौँ’ सूचना अधिकारी पौडेलले भन्नुभयो ‘छिट्टै नै हामी यो निर्णय गर्ने छौँ ।’ कति रकम बढाउने र कहिलेदेखि यो नियम लागू गर्ने भन्ने बारेमा भने बोर्डले निर्णय गरिसकेको छैन ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा हकवालाले सात लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषबाट बोर्डले प्रदान गर्छ ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा श्रमिकले नै यो कोषमा १५ सय रुपैयाँ रकम जम्मा गर्नुपर्छ । 

यस्तै बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिक वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग भएर वा बिरामी भएर फर्कँदा प्रदान गर्ने रकममा पनि वृद्धि गर्ने भएको छ ।

अहिले अङ्गभङ्ग वा रोगको प्रकृति अनुसार बोर्डले अधिकतम सात लाख रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्दै आइरहेको छ । 

 

तपाईको प्रतिक्रिया