१० महिनामा वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना बाकसमा फर्किए

 जेठ ९, २०८० मंगलबार १५:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ ।

खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन् । 

साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ । 

मलेसियापछि खाडीको देश कतारमा एक जना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ । 

यस्तै यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको, कुवेतमा नौ जना महिला र ५० जना पुरुष गरी ५९ जनाको र खाडीकै अर्को देश बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको ज्यान गएको छ । 

यस्तै ब्रुनाईमा २ जनाको, क्रोएसियामा ४ जनाको, साइप्रसमा ५ जनाको, इजरायलमा २ जनाको, जापानमा ८ जनाको, जोर्डनमा २ जनाको, मकाउमा १ जनाको, मालदिभ्समा ३ जनाको, माल्टामा दुई जनाको, ओमानमा ७ जनाको, पोर्चुगल र पोल्याण्डमा एक एक जनाको, दक्षिण कोरियामा १७ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा विदेशमा कार्यरत रहेकै देशमा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ४६ करोड रुपैयाँ रकम आर्थिक सहायता दिइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ । 

1 Comments

  • सरकार नेपाल मा रोजगार दे मरेनी आफ्नै माटोमा मर्नु

    May 24, 2023, 7:08 a.m.

    सरकार आफ्नै देशमा रोजगार दे मरे पनि आफ्नै देशमा मर्नु परोस् ।

तपाईको प्रतिक्रिया