रोजगारीको लागि दक्षिण अफ्रिका पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न विभागको आग्रह

 जेठ १८, २०८० बिहिबार १६:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली वर्क पर्मिट बनाएर ठगी गर्ने गरेको छ । यसरी मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय पचास भन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ संकलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यस्ता प्रलोभनमा नपर्न विभागले आग्रह गरको छ । 

त्यो गिरोहले पर्यटन भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको छ । पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिन्छ । त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सम्बन्धित देशका निकायले पक्राउ गरी कानुन बमोजिम दण्ड जरिबाना गराइ वा थुनामा राखेर देश निकाला गर्छ ।

‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन’, विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

यस्तै दक्षिण अफ्रिकाले दक्ष जनशक्तिको लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लिने कानुनी व्यवस्था छ । ती पदहरुको लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । 

कुनै पनि देश जानको लागि सम्बन्धित देशको भिसा आवस्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागले आग्रह गरेको छ । भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग या ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने विभागले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया