सुवास चन्द्र नेम्वाङ्ग

प्रतिनिधिसभा सदस्य
इलाम-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६९
प्राप्त मत
३००२०
लिङ्ग
पुरुष
हालको पद
उपाध्यक्ष, नेकपा एमाले
शैक्षिक योग्यता
कानून र मानविकी संकायमा स्नातक

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । २०६४ को पहिलो संविधानसभा र २०७० को दोश्रो संविधानसभामा उहाँ सभामुख निर्वाचित हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा संविधान घोषणा भयो ।
नेम्वाङको जन्म २००९ सालमा इलामको सुन्तलाबारीमा भएको हो । उहाँका बाबुको नाम रामबहादुर र आमाको नाम अपिन्द्रकुमारी हो ।
कानुन व्यवसायीसमेत रहेका नेम्बाङ्गको राजनीतिक पृष्ठभूमि पनि लामो छ । कानून र मानविकी संकायमा स्नातक गरेका सुवासचन्द्र नेम्बाङ पञ्चायतकालमा वकालतमा छुट्टै र चर्चित नाम थियो ।
नेम्वाङ्ग २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको प्रथम निर्वाचित स्ववियु सभापति हुनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । 
उहाँ २०४३ सालमा नेपाल बार एशोसिएशनको महासचिव हुनुभयो । २०५१ सालमा पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने सरकारमा नेम्वाङ कानून तथा न्याय मन्त्री हुनुहुन्थ्यो । त्यसपछिका सरकारमा उहाँले सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
प्रजातन्त्रको स्थापनापछि भएका सबै चुनावमा उहाँ इलाम क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । २०४८ सालमा प्रतिनिधिसभा चुनाव जितेका नेम्बाङ २०५६ सालको संसदीय चुनावपछि सार्वजनिक लेखा समितिको संयोजक हुनुभएको थियो ।
पहिलो संविधानसभा चुनावमा उहाँले नेपाली कांग्रेसका केशव थापालाई पराजित गर्नुभयो । दोश्रो संविधानसभा चुनावमा पनि उहाँ यही क्षेत्रबाट विजयी हुनुभयो । २०७४ सालको चुनावमा पनि उहाँ इलाम क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो । नेम्वाङ हाल नेकपा एमालेको उपाध्यक्ष हुनुहुन्छ ।