के.पी शर्मा ओली

प्रतिनिधिसभा सदस्य
झापा-५

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७०
प्राप्त मत
५२३१९
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, नेकपा एमाले
शैक्षिक योग्यता
प्रवेशिका परीक्षा एसएलसी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवागाउँमा भएको हो । उहाँका बाबुको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु ओली हो । उहाँ २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो । २०७४ सालको प्रतिनिधि सभाको चुनावपछि ओली २०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसअघि २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री हुनुभयो ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिनु भएको थियो । २०२८ सालको झापा आन्दोलनका प्रमुखमध्ये उहाँ एक हुनुहुन्थ्यो । त्यही वर्ष उहाँ जेल पर्नुभयो । ओली तत्कालीन नेकपा मालेको संस्थापक नेता समेत हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनु भएको थियो ।

ओली २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभयो । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट निर्वाचित हुनुभयो । २०७४ सालमा उहाँ झापा ५ बाट निर्वाचित हुनु भएको थियो । यस पटक पनि उहाँ झापा ५ बाट नै उम्मेदवार हुनुभएको छ । 

उहाँ २०६५ मा भएको नेकपा एमालेको आठौँ महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित हुनुभएको थियो । २०७० साल माघ २१ गते झलनाथ खनाललाई पराजित गरेर उहाँ संसदीय दलको नेतामा चयन हुनुभयो । २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुभएका ओली २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित हुनुभयो ।

२०७४ सालको चुनावपछि तत्कालीन एमाले र माओवादीको एकता हुँदा उहाँ नेकपाको पहिलो अध्यक्षका रुपमा चयन हुनुभयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि हुनुहुन्थ्यो । सरकार र पार्टी सञ्चालनको विषयमा नेतृत्वबीच विवाद बढिरहेको बेला सर्वोच्चले नेकपा नै बिघटन गरिदिएपछि फेरि उहाँ एमालेकै अध्यक्ष बन्नुभयो । २०७८ मंसिरमा भएको पार्टीको १० औं महाधिवेशनबाट उहाँ फेरि एमालेको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नु भएको थियो । ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गर्नु भएको थियो । भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रुचाउँछन् । ओली हाल भक्तपुरको बालकोटमा बस्दै आउनु भएको छ ।