कृष्ण गोपाल श्रेष्ठ

प्रतिनिधिसभा सदस्य
काठमाडौं-९

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
११९५६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको जन्म विक्रम संवत २०१५ साल असोज १५ गते विजयादशमीको दिन काठमाडौंमा भएको हो । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँले अर्थशास्त्रमा एमए गर्नुभएको छ ।

नेता श्रेष्ठ हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्नुहुन्छ । उहाँका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्नुहुन्थ्यो । डेरामा नै कृष्णगोपालको जन्म भएको हो ।
राणा परिवारका बालबालिकाले पढेको देखेर कृष्णगोपालले सानो उमेरमा अक्षर चिन्ने मौका पाउनुभयो । स्कूल जान त पाउनुभएन । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उहाँले धेरै कुरा सिक्नुभयो । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गर्नुभएको हो ।

सानै उमेरमा गरिबी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यहीबेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो । २०३५ सालमा अनेरास्ववियु हुँदै तत्कालीन नेकपा मालेसँग उहाँको सम्पर्क भयो । त्यहीबेला उहाँ पार्टीको संगठित सदस्य बन्नुभयो । २०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सक्रियतापूर्वक सहभागी हुनुभएको थियो । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उहाँ पटकपटक जेल समेत पर्नुभएको छ ।

नेता श्रेष्ठ २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव हुनुभयो । श्रेष्ठ २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव हुनुभएको थियो । यसअघि २०३६/०३७ सालमा उहाँ उपत्यका समन्वय कमिटीको सदस्य बन्नुभएको थियो ।

२०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका नेता श्रेष्ठ २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बन्नुभयो । २०५४ सालदेखि उहाँ निरन्तर नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

२०४८ सालको आमचुनावमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपचुनावमा उहाँ नेकपा एमालेको तर्फबाट निर्वाचित हुनुभयो । यस्तै २०५१ को आम चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित हुनुभयो । २०५६ मा काठमाण्डौ ९ बाट उम्मेदवारी दिएका श्रेष्ठ पराजित हुनुभएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ त्यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । तर पराजित हुनुभयो । दोस्रो संविधानसभा २०७० को चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर ९ बाट नै उम्मेदवारी दिएपनि उहाँ विजयी भने हुनसक्नु भएन । २०७४ सालको चुनावमा उहाँ काठमाण्डौ क्षेत्र नम्बर ५ बाट विजयी हुनुभयो ।

२०६१ सालमा उहाँ स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो भने केपी शर्मा ओलीको मन्त्रीमण्डलमा सहरी विकास मन्त्रीसमेत बन्नु भएको थियो । पार्टीका हरेक काममा सक्रिय हुने श्रेष्ठले २०४६ सालमा एउटा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यो बेला सिरहामा भूमिगत रुपमा भएको पार्टी सम्मेलनमा उहाँलाई काठमाण्डौबाट प्रतिनिधि बनाइएको थियो । त्यतिबेला काठमाण्डौमा रहेका नेताहरु राधाकृष्ण मैनाली, केपी शर्मा ओली र मोदनाथ प्रश्रितलाई लुकाएर सिरहासम्म लैजाने जिम्मेवारी उहाँले सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।