Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशकाे  ४९९ औँ अंक

कार्यक्रम देश परदेशकाे  ४९९ अंक फेरिँदो श्रम गन्तव्य सँगै बढेको जोखिमको विषयमा केन्द्रित छ । खाडीका देश र मलेसिया जाँदा कतिपय श्रमिक ४०/५० हजार देखि एकदुई लाख रुपैयाँसम्मको ठगीमा पर्थे भने अहिले युरोपेली देशमा जान खोज्दा १४/१५ लाख रुपैयाँ ठगिएँ भन्दै वैदेशिक रोजगार विभाग धाउनेहरु धेरै छन् ।  आजको कार्यक्रममा युरोपेली देश जान खोज्दा एजेण्ट तथा म्यानपावरबाट ठगीएका श्रमिकका अनुभव सुन्न सकिन्छ । यस्तै नयाँ श्रम गन्तव्य देशमा रोजगारीको प्रक्रिया के छ, कुन कुन देशमा जान पाइन्छ भन्ने विषयमा वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालसँग पनि कुराकानी गरेका छौँ । अनि, कामको लागि युरोपेली देशमा जाने नेपालीले भोग्ने गरेका समस्याबारे युरोपमै रहेर यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका लेखक तथा पत्रकार ददी सापकोटाको अनुभव पनि सुन्न सक्नुहुन्छ । साथमा हप्ताभरिका रोजगार गतिविधि र तपाईंको प्रश्नमा हाम्रो उत्तर त छँदैछ ।