Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५०५औँ अंक

कार्यक्रम देश परदेशको अंक ५०५ घरेलु महिला कामदारलाई स्वदेश आएर पुनः विदेश जान दिने सरकारको निर्णयमा केन्द्रित छ । परदेशमा राम्रो सेवा सुविधासहित घरेलु काम गरिरहेका तर सरकारी नियमका कारण रोजगारी गुम्ने डरले घर फर्कन नपाएका केही महिला श्रमिकको भनाइ कार्यक्रममा सुन्न सकिन्छ । विभिन्न बाटोबाट परदेश पुगेर घरेलु श्रम गरिरहेका महिला श्रमिक स्वदेश आएर फर्कन पाउने गरी श्रम मन्त्रालयले गरेको मन्त्रीस्तरिय निर्णय र यसको कार्यान्वयनको विविध पक्षबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सह प्रवक्ता डा. थानेश्वर भुसालसित गरिएको कुराकानी र विदेशमा काम गरिरहेका घरेलु श्रमिकको स्वदेश फिर्तीको ढोका खोल्ने सरकारी निर्णय र घरेलु काममा जाने महिला श्रमिकको सुरक्षाका लागि सरकारको अबको कदमबारे अम्कास नेपालकी संस्थापक तथा महिला अधिकारकर्मी विजया राई श्रेष्ठको बिचार पनि कार्यक्रममा समेटिएको छ । साथमा छ, तपाईँका रुचि र चासोको विषय समेटिएको राउण्डअफ र हप्ताभरिका रोजगार गतिविधि पनि ।