Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६२२

नेपाल लेबर माइग्रेशन रिपोर्ट सन् २०२२ का अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको संख्या १०,६६६ छ । तीमध्ये १०,४०० भन्दा बढी पुरुष रहेको तथ्याङ्क छ । श्रम मन्त्रालयले निकालेको उक्त प्रतिवेदनले खाडी देश तथा मलेशियामा श्रमिकहरूको मृत्यु हुनुको एउटा प्रमुख कारण आत्महत्यालाई मानेको छ । सोहि  अध्ययन अनुसार चिन्ता, निराशा, क्षयरोग, दुर्घटना र चोटपटक, टाउको दुख्नु अनि आत्महत्याको प्रयासलाई खाडी देशमा काम गर्ने पुरुषहरूको प्रमुख स्वास्थ्य जोखिममा रहेको देखिन्छ । यो एउटा पाटो भयो । यसको अर्को पाटो बैदेशिक रोेजगारीबाट फर्किएका श्रमिकको छ । वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न असक्षम भएको देखिन्छ । जसकारण, नेपाली आप्रवासी श्रमिकहरूले श्रम आप्रवासनबाट प्राप्त गर्न सक्ने लाभ पूर्ण रूपमा पाउने सम्भावना कम हुनुको साथै उद्यममा लगानी गर्न नसकिरहेको अवस्था छ । कार्यक्रम देश परदेशको अंक ६२२ यिनै विषयमा केन्द्रित छ । बैदेशिक रोजगारीमा रहेका श्रमिक साथै श्रमिकका परिवारले भोग्ने मानसिक समस्याबारेको मनोविद् स्मृति घिमिरेसँगको कुराकानी कार्यक्रममा समावेश छ । साथै, बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको समस्या र चुनौती समाधानका लागि भइरहेका पहलबारे प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) का प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) को तर्फबाट सामी परियोजन संयोजक अभिमान सिंह लामासँगको कुराकानी पनि कार्यक्रम देश परदेशको अंक ६२२ मा सुन्नसक्नुहुन्छ ।