Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

409_Desh Paradesh 2020-04-28

कार्यक्रम देश परदेशको ४०९ औं अंक दूतावासले महामारीका बेलामा श्रमिकको गुनासो किन सम्बोधन गर्न सकेनन् त ? अहिले उपलब्ध स्रोत साधनबाट पनि कसरी दूतावासको काम प्रभावकारी बनाउन सकिएला  भन्ने विषयमा केन्द्रित छ । कोरोना महामारीको यो बेला नेपाली श्रमिकको समस्या समाधानका लागि खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासले कसरी काम गरिरहेका छन् त ? यी देशमा रहेका नेपाली दूतावासका भनाईँ कार्यक्रममा सुन्न सकिन्छ । अहिले उपलब्ध स्रोत र साधनबाटै पनि दूतावासको काम कसरी प्रभावकारी बनाउन सकिएला त ? पूर्व परराष्ट्र सचिव तथा कुटनीतिज्ञ मधुरमण आचार्यका विचार पनि कार्यक्रममा समावेश छ । अनि, तपाईँले विदेशबाट सोधेका प्रश्नका जवाफ दिदै हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे । कार्यक्रममा तपाईँका चासो र रुचिका विषय समेटिएको गतिविधि पनि समावेश छ ।