Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

417_Desh Pardesh 2020-06-23

कार्यक्रम देश परदेशको ४१७ औं अंक विदेशमा कार्यरत नेपालीको स्वास्थ्य अवस्था र स्वास्थ्य समस्या समाधानमा सरकारले गरिरहेको काममा केन्द्रित छ ।
कार्यक्रममा परदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटासँगको कुराकानी सुन्न सकिन्छ । विदेशमा कार्यरत श्रमिकले भोग्नु परेका स्वास्थ्य समस्या समाधान गर्न नेपाल सरकारले गरिरहेको कामबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीसँगको कुराकानी समावेश छ । अनि, विदेशबाट घर फर्कन टिकट काट्नै नसक्ने अवस्थाका नेपालीको लागि सरकारले के व्यवस्था गर्छ त भन्ने धेरैको जिज्ञासा मेटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेसँग कुराकानी पनि सुन्न सकिन्छ ।