नागढुङ्गाको सडक अझै एकतर्फी, गल्छी–रसुवागढी सडक अवरुद्ध

 भदौ ६, २०८१ बिहीबार १२:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गामा हिजो बेलुकीदेखि एकतर्फी खुलेको सडक अझै दुईतर्फी सञ्चालनमा आउन सकेको छैन ।

ठूलो पहिरोका कारण हिजो झन्डै ६ घण्टा बन्द भएको सडक बेलुकीपख एकतर्फी सञ्चालनमा आएको थियाे । पहिरो ठूलो र ठाउँ साँघुरो भएकाले दुईतर्फी खुलाउन समस्या भएको नागढुङ्गा प्रहरीले जनाएको छ । अहिले आलोपालो गरेर गाडी सञ्चालन भइरहेको छ ।

यस्तै पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्ड हिजो बेलुकादेखि अवरुद्ध भएको छ । घाँसीकुवामा हिजो बेलुका सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने काम भइरहे पनि समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ ।

यस राजमार्ग भएर गुड्ने गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । साना तथा मझौला गाडीलाई दमौलीबाट तालघारे हुँदै रानीगाउँ निस्कन तथा घाँसीकुवाबाट रानीगाउँ हुँदै तनहुँको डुम्रेतर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरी ठूला गाडीलाई डुम्रे बेंसीशहर लमजुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा गाडी आवातजावत गर्न समस्या भएको छ । धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने गाडी गल्छीबाट काठमाण्डौ नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

गएराति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिरो पन्छाउन आज बिहानदेखि प्रयास भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया