पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र पारित, प्रधानमन्त्री ओली भन्छन् : 'एल' हटाएर अब 'डीसी' मा पुग्ने हाे

 चैत २१, २०७५ बिहिबार १७:२०:२० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र पारित भएको छ   । 

काठमाण्डौमा बुधबारदेखि चलेको राष्ट्रिय विकास परिषदको बैठकले आधारपत्र पारित गरेको हो  । आधारपत्रको मस्यौदामा  मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगायतको ६ वटा समूहले  सुझाव दिएको थियो ।

परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री केपी ओलीले आधारपत्रमा भएका योजना पूरा गर्ने र त्यसको लागि ३ वटै सरकारले पहल गर्नुपर्ने बताउनुभयो । अब देश अति कम विकसित देशको सूचीबाट छिटै हटाउनेगरी काम गर्ने उहाँको प्रतिबद्धता छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपालले आफ्नाे नामबाट 'एल' हटाउने बताउनु भयाे । उहाँले भन्नुभयो ‘लिस्ट डेभलप्डको सबै दागी मेट्ने काम गर्छौं ।’ 

‘एल हटाएर अब डीसी (डेभलप्ड कन्ट्री)मा पुग्ने हाे,’ उहाँले भन्नुभयाे, ‘डीसीमा अहिल्यै नपुगिएला तर डेभलपिङ कन्ट्रीतर्फ हामी अघि बढ्छाैँ ।’

रुग्ण उद्योगलाई पुन:स्थापना गरिने तर चल्न नसक्ने अवस्थाका उद्योगलाई बन्द गरिने भन्दै उहाँले सरकारले देशको हितका लागि निर्णय गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘प्रधानामन्त्रीले पावर केन्द्रित गर्‍यो भन्छन् कतिपयले यस प्रणालीमा प्रधानमन्त्री अलिअलि पावरफूल नै हुन्छन् । तर प्रधानमान्त्रीलाई पावरको कुनै शौख छैन । अहिलेको प्रधानमन्त्रीसँग हंगर अफ् चेन्ज र हंगर फर डेभलपमेण्ट छ ।’

आयोगले समृद्ध नेपालको  लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजनाको मस्यौदामा समेटिएको छ । 

कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालका लागि दोहोरो अंकको आर्थिक वृद्धिदरसहित तीव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिनुभयो । १४ औँ योजनाले लिएका धेरैजसो सूचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उहाँले दाबी गर्नुभयो ।

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्‍याउने,  गरिबी १३ प्रतिशतमा झार्ने,  साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख छ ।

यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्याउने, ७५ प्रतिशमा इन्टरनेट पुर्याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ । 

यस्तै विक्रम संवत २१०० अर्थात २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्याउने, गरिबी ५ प्रतिशतमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने,४० हजार मेगावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, शतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुग्ने बताइएको छ ।

विक्रम संवत २१०० मा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया