एजेण्ट र म्यानपावरका कुरा पत्याउँदा साउदीमा अलपत्र, उद्धार गरिदिन आग्रह

 असार १७, २०७५ आइतबार १५:५९:०

रमा मगर । 

उदयपुर – उदयपुरको बेलका नगरपालिका–२ तपेश्वरीका भरतबहादुर पौडेल यतिबेला साउदी अरबबाट आफूलाई उद्धार गरिदिन हारगुहार गरिरहनुभएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएको भन्दै उहाँले उद्धार गरिदिन आग्रह गर्नुभएको हो । 

उहाँ ड्राइभरको कामका लागि एक लाख ३० हजार रुपैयाँ तिरेर ब्रोड वे ओभरसिजबाट साउदी जानुभएको थियो । म्यानपावरले उहाँसँग १८ सय रियाल तलब र ओभरटाइम पनि हुने सम्झौता गरेको थियो ।

तर साउदी पुगेपछि कम्पनीले ९ सय रियालको अर्को सम्झौतामा हस्ताक्षर गरायो । एक लाख भन्दा धेरै तिरेर गएका भरतबहादुर तत्काल फर्किन सक्ने अवस्था थिएन । त्यसैले काम गर्न थाल्नुभयो । साउदी पुग्ने बित्तिकै गाडी चलाउन पाउनुभएन ।

तीन महिनामा लाइसेन्स निकालेपछि गाडी चलाउन थाल्नुभयो । तर खाने बस्ने सुविधा केही दिएन । ‘आफूले कुदाउने गाडीमै सुत्थें अनि दिनभरीमा कसैले टिप्स दियो भने खान पाइयो नभए भोकै’ भरतले जिल्ला समन्वय समिति उदयपुरले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रमा फोन गरेर भन्नुभयो । 

उहाँले एजेण्ट प्रकाश कार्कीलाई पनि नेपालमा भनेको सम्झौताको आधा मात्रै तलब पाएको भन्दै गुनासो गर्नुभयो । तर उनले सजिलै ड्राइभर भिसामा थोरै तलब भन्दा श्रम स्वीकृती नदिने भएकाले १८ सय रियालको सम्झौता पत्र बनाएको बताए । 

खानेबस्ने व्यवस्था नभएपनि आफूले गरेको कामको तलब पाइन्छ भन्ने आशामा हुनुहुन्थ्यो उहाँ । तर काम गरेको तीन महिना हुँदासम्म पनि तलब दिएन । उहाँले आफू समस्यामा परेको भन्दै उद्धारका लागि पहल गर्न परिवारलाई आग्रह गर्नुभयो । परिवारले भरतको उद्धार गरिदिन आग्रह गर्दै केन्द्रमा निवेदन दिएको छ । 

उद्धारका लागि निवेदन दिएपछि आफू घर फर्किन पाउँला भन्ने सोच्नुभएको थियो । तर कम्पनीले आफू बिरुद्ध नेपालमा उजुरी दिएको भन्दै कामबाटै निकालिदिएको छ । त्यति मात्रै होइन आफूलाई खतरा पो हुने हो कि भन्ने लागिरहेकाले आफूलाई जति सक्दा छिटो उद्धार गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले एजेण्ट र म्यानपावरले देखाएका ठूला सपना पत्याउँदा पनि समस्यामा परेको बताउनुभएको छ । भरत भन्नुहुन्छ ‘पैसा कमाउन साउदीमा सजिलो हुन्छ भनेर म आएको होइन तर दुःख सहनुको पनि सीमा हुन्छ । मेरो दुःखको सीमा नै छैन ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया