कार्यालयभित्रै झगडा गर्ने डाक्टरहरुको सरुवा

 साउन १८, २०७७ आइतबार १३:१५:५० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कार्यालय प्रमुख आफू भएको दाबी गर्दै कार्यालय समयमा झगडा गरेर सेवाग्राहीलाई रमिता देखाएको समाचार सार्वजनिक भएसँगै जिल्ला आयुर्वेद कार्यालयका डाक्टरहरुको सरुवा भएको छ । 

विभिन्न सञ्चार माध्यममा केही दिनअघि उनीहरुले झगडा गरिरहेको प्रमाणसहितका समाचार प्रसारण/प्रकाशन भएसँगै दुवै जना डाक्टरको १ नम्बर प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले सरुवा गरेको हो ।

झगडा गर्नेमध्ये १९ वर्षदेखि कार्यालय प्रमुखका रुपमा कार्यरत डाक्टर मुरलीप्रसाद साहलाइ खोटाङ र गएको फागुन महिनादेखि प्रमुखका जिम्मेवारी दिएर पठाइएका डाक्टर विजय श्रेष्ठलाइ सोलुखुम्वु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद चिकित्सकलाई उदयपुर पठाइएको मन्त्रालयले जनाएको छ ।

पाँचथरमा भने उदयपुरका आयुर्वेद चिकित्सक सञ्जिव यादवलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । पाँचथर जिल्ला आयुर्वेद कार्यालय पछिल्लो समय ‘बिरामीको उपचार गर्ने होइन, चिकित्सकले झगडा गरेर सेवाग्राहीलाई रमिता देखाउने थलो’ बनेको समाचार प्रकाशन/प्रसारण भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया