अलैंचीको भाउमा गिरावट आउँदा किसान निराश

 भदौ १७, २०७७ बुधबार १२:४४:४७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैंचीको नयाँ उत्पादन सुरु भएसँगै बजार भाउमा गिरावट आउँदा किसान चिन्तित बनेका छन् ।

उत्पादन बजारमा जान सुरु भएकै बेला नयाँ अलैँचीको भाउ अपेक्षा गरेजस्तो नआएपछि किसानमा निराशा छाएको हो ।

अलैँचीको नयाँ उत्पादन भदौ महिनादेखि सुरु हुन्छ । विगत १० वर्षदेखि लागनी र श्रमअनुसारको भाउ नपाउँदा किसान अलैँची व्यवसायबाट नै पलायन हुने स्थितिमा पुगेका उत्पादक किसान बताउँछन् ।

१० वर्षअघि प्रतिमन (४० केजीको) १ लाख २० हजार सम्म अलैंची विक्री गरेका किसान अहिले आएर २२ हजारमा विक्री गर्न बाध्न छन् ।  अहिले पाँचथरमा प्रतिमन २२ हजार रुपैयाँ रहेको छ । गएको वर्ष यही समयमा अलैँचीको भाउ प्रतिमन २६ हजार रुपैयाँ थियो ।

राम्रो भाउ पाइन थालेपछि धान, मकै लगायत खाद्यान्न बाली हुने जमिन मासेर अलैँची खेती गर्न थालेका किसान अहिले आएर बर्सेनि भाउ ओरालो लाग्दा वैकल्पिक खेतीबारे सोच्न थालेका छन् । अनुकूल मौसमले गर्दा यस वर्ष अलैँची उत्पादन बढ्ने दखिए पनि सुरुवातमै यसको भाउ घट्दा किसानहरुलाई घाटा हुने जिल्लाको फालेलुङ गाउँपालिकाका किसान याम लिम्बूले बताउनुभयो ।

पहिले अलैंचीमा लाग्ने विभिन्न रोगले दुःख पाइरहेका किसानले यो वर्ष भाउ घट्दा दुःख पाउने देखिएको अर्का किसान जसराज लिम्बूको भनाइ छ । अलैँचीको भाउ तलमाथि भइरहँदा व्यवसायीहरु अन्यौलमा परेका छन् । राम्रो भाउको पर्खाइमा बस्दा गएका वर्ष खरिद गरेको अलैँची गोदाममै थन्किएको अलैंची व्यवसायी दीपक नेपालले बताउनुभयो । 

अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी यस वर्ष कोरोनाका कारण किसान र व्यावसायीले थप मार खेप्नुपर्ने अवस्थाका आएको बताउनुहुन्छ ।

अलैंची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चार हजार एक सय ५०  हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा एक हजार सात सय  ३७ र इलाममा एक हजार दुई सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । नेपालको अलैँची भारत हुँदै तेस्रो देशसम्म निर्यात हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया