दशैँले पनि रोक्न सकेन परदेशीलाई, भारत जान लाइनमा बसेकाहरु भन्छन्, ‘मन थिएन मुगलान पस्नलाई’

 असोज ११, २०७७ आइतबार १३:३६:४७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सीमानाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । वर्षभरि मुगलानमा पसिना बगाएका नेपालीहरु दशगजामा आइपुग्दा दङ्ग हुन्थे । तर अहिले ती सुदूरपश्चिमका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको छ । 

अहिले स्वदेश फर्किनेको सङ्ख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या तीन गुणा बढी छ । कोरोना भाइरसको प्रभावले छाक टार्न मुश्किल भएपछि भारत जान लागेको बझाङका प्रयाग कोइरालाले बताउनुभयो ।

‘स्वदेशमै बसे पनि रोजगारी पाइने होइन’, उहाँले भन्नुभयो, ‘पेट पाल्नकै लागि भए पनि जानुपर्ने भारत नै हो ।’ कोरोनाकै प्रभावका बीच गएकाे असारमा घर फर्किनुभएका उहाँ त्रिनगर-गौरीफन्टा नाका भएर भारत पस्नुभयो । 

घर फर्किएकालाई दशैँले रोक्न सकेन

यसअघि कहिल्यै भारत नगएका सुदूरपश्चिमवासी पनि रोजगारीका लागि भारत जान बाध्य छन् । मुख्य चाडपर्व दशैँ, तिहार आउन एक महिना पनि बाँकी छैन । चाडपर्वकै बेला रोजगारीका लागि भारत जान लागेको गौरीफन्टामा भेटिनुभएका हरिश मल्लले बताउनुभयो ।

‘दशैँ नजिकै आउँदै गरेको भए पनि दैनिकी चलाउनै मुश्किल हुन लागेपछि भारत जानुपर्ने बाध्यता’, उहाँले भन्नुभयो, ‘मुग्लान पस्नलाई पटक्कै मन थिएन । पालिका र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास छैन । केही नभएपछि जानु नै पर्ने बाध्यता आयो ।’ असोज सुरु भएपछि गौरीफन्टा नाका भएर झण्डै सात हजार प्रदेशवासी भारत पसेका छन् ।

पालिका र प्रदेश सरकारले रोजगारको व्यवस्था गर्न नसकेको गुनासो

सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य देश भारत हो । सहजै आउजाउ गर्न पाइने भएपछि सुदूरपश्चिमबाट ठूलो सङ्ख्यामा मानिसहरू गुजाराका लागि भारत जाने गर्दछन् । यसरी भारत गएकाहरू विगतका वर्षमा दशैँ मनाउन भनेर एक महिना अगाडि नै घर आउने गर्थे । 

दीपावलीपछि फर्किन्थे । तर यसपालि भने दृश्य फेरिएको छ । घर फर्किने बेला कामको खोजीमा भारत जानेको नाकामा लाइन छ । काेराेना भाइरसकाे प्रभावका कारण गएकाे चैतमा लाडाउन गरिएपछि धेरै सङ्ख्यामा सुदूरपश्चिमवासी स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए । 

झण्डै चार/पाँच महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउन नसकिने भएपछि फेरि पनि भारत जानु परेको उनीहरुकाे गुनासो छ । न उनीहरुलाई सरकारको स्वरोजगारका कार्यक्रमले रोक्न सकेको छ न भारतमा बढी रहेको कोरोना भाइरसको त्रासले नै । 

‘चार महिना अगाडि यसै नाकाबाट कोरोना त्रासले घर फर्किनुभएका डडेल्धुरा अजयमेरुका प्रयाग टमटाले भन्नुभयो, ‘भारतमा अहिले कोरोना झनै बढेको छ तर छाक टार्नका लागि भए पनि भारत जानै पर्‍याे ।’ चाडपर्व परिवारसँगै मनाउने इच्छा भए पनि बाध्य भएर भारत जान परेको तर्क उहाँको छ । 

घर फर्किएकाहरुले रोग जिते, भोक जित्न सकेनन्

काेराेना भाइरसकाे महामारीले अवस्था फेरिएको हो । धेरै सुदूरपश्चिमेली चैतदेखि नै नेपाल फर्किए । भारतमा कोरोना महामारीको उकालो गति देखेर नेपाल फर्किएकाहरू नेपालमै बस्न भने पाँच महिना पनि सकेनन् । वर्षकै ठूलो चाडको मुखमा परदेशिन बाध्य भइरहेका छन् । 

उनीहरु भन्छन्, ‘चाडभन्दा भोक ठूलो हो । खानलाई काम गर्नै पर्‍याे । स्वदेशमा काम पाइएन । अनि झोलाझिम्टी बोकेर, रोगको डरका बीच बाध्यताले भारत जानुपरेको छ ।’ भारत जाने क्रममा सीमामा भेटिएका डडेल्धुराका विमल नेपालीले भन्नुभयो, ‘रोगभन्दा भोक ठूलो हुँदो रहेछ भन्थे हो रहेछ । दशैँको मुखमा भारत जानु पर्दा खिन्न भएको छु ।’ 

गएकाे भदौदेखि रोग जिते पनि भोक जित्न नसकिने भन्दै उनीहरू फेरि भारत पस्ने क्रम फाट्टफुट्ट सुरु भएको थियो । अहिले चाडवाडको मुखैमा झन् त्यो चटारो चुलिएको छ । गएकाे जेठमा दैनिक पाँच हजारसम्म नेपाली स्वदेश फर्किएको गौरीफन्टा नाकाबाट अहिले दैनिक एक हजार जना फेरि भारत पस्न थालेका छन् ।

नाकामा लामै लाइन 

गौरीफन्टा नाका सुदूरपश्चिमको प्रमुख नाका हो । विभिन्न ठाउँबाट भारत पस्न यहाँ आइपुगेकालाई लाइनमा बस्नुपर्ने हुन्छ । त्यहाँ भारततर्फ र नेपालतर्फका सुरक्षाकर्मीले उनीहरूको व्यवस्थापन गर्छन् । प्रायः जसो हरेक दिन नाकामा ठेलमठेल लाइनमा हुन्छन् । भारत पस्नेहरूको लाइनमा हुनुहुन्थ्यो, कैलालीको लम्कीका अर्जुन विष्ट ।

विष्ट त्यही नाका भएर घर फर्केको तीन महिना मात्रै भएको छ । घरमा बसेर ६ जनाको परिवार पाल्ने कुनै विकल्प नदेखेर फेरि भारत जान लागेको उहाँ भन्नुहुन्छ । ‘घरमा काम छैन, काम नभएर पैसा पनि आउँदैन’, उहाँ भन्नुहुन्छ, ‘परिवारसँगै बसेर दशैँ मनाउने रहर त थियो । तर हामी गरिबलाई सधैँ सोचेजस्तो रहर पूरा गर्न कहाँ पाइन्छ र ? 

झन्डै चार महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने देखेर फेरि भारत जानु परेकाे कञ्चनपुरका जगदीश नाथले पनि सुनाउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार असोज १ मा पाँच सय बढी, २ गते नौ सय ६४ जना, ३ गते नौ सय ४६ जना, ४ गते एक हजार ३६ जना, ५ गते एक हजार दुई सय ८७ जना, ६ गते एक हजार ६ सय नौ जना र ७ गते एक हजार बढी सुदूरपश्चिमेलीहरु भारत पसेका छन् ।

कोरोना सङ्क्रमणको जोखिम

सीमा नाका अव्यवस्थित हुँदा कोरोना सङ्क्रमण जोखिम पनि उत्तिकै छ । सीमा नाकाबाट विगतमा जस्तै आवागमन भइरहेको छ भने नाकामै स्थापना गरिएको होल्डिङ सेन्टरमा भारतबाट फर्कनेलाई होल्ड गर्नसमेत समस्या छ ।

गौरीफन्टा नाकामा होल्डिङ सेन्टर स्थापना र सञ्चालनका लागि बजेट पाएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले विगतमा जस्तो होल्डिङ सेन्टर प्रयोगमा नरहेको बताउनुभयो ।

‘अहिले सार्वजनिक गाडी खुलिसकेको अवस्था भएकाले विगतमा जस्तो राति नै बास बस्ने गरी होल्डिङ सेन्टर छैन’, उहाँले भन्नुभयो, ‘भारतबाट फर्किनेहरु केहीबेर होल्ड हुन्छन् । कतिपय सोझै घरतर्फ जान्छन् ।’  

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया