चर्को ब्याजको मारमा भूकम्प पीडित, मन्त्रालय र राष्ट्र बैंक भन्छन् – छलफल गर्दैछौं

 भदौ ११, २०७५ सोमबार ८:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २ वर्षको लागि २ प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्न नसकेपछि भूकम्प प्रभावित १५/१६ प्रतिशतसम्म ब्याज तिर्न बाध्य भएका छन् । २ वर्षअघि सरकारले भूकम्प प्रभावितलाई २ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरेको थियो । तर सुलभ ब्याजदरमा दिइने कर्जाको म्याद सकिएपछि बैंकहरुले २ प्रतिशत ब्याज बढाएर १५÷१६ प्रतिशतसम्म पुर्‍याएका छन् । 

तोकेको समयमा पीडितहरुले ऋण तिर्न नसकेपछि बैंकहरुले ऋणीको धितो नै लिलामी गर्न थालेका थिए । राष्ट्र बैंकले गएको साउन १४ गते ऋणीको धितो लिलाम नगर्न परिपत्र गरेपछि धितो लिलामी भएको छैन । तर २ प्रतिशत ब्याजदरमा लिएका ऋणीबाट भने बैंकहरुले अहिले चर्को ब्याज लिन थालेका छन् । 

राष्ट्रबैंकले २०७२ सालमा कार्यविधि बनाएर पुनः कर्जामार्फत भूकम्प पीडितलाईलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको थियो । कार्यविधिमा काठमाडाैं उपत्यकामा २५ लाखसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म २ प्रतिशत ब्याजमा २ वर्षसम्मका लागि कर्जा लिन सकिने उल्लेख थियो । 

अर्थमन्त्री भन्छन : पुनर्विचार गर्दैछौं

भूकम्प पीडितको धितो लिलामी नगर्न बैंकहरुलाई राष्ट्रबैंकले गएको साउन १४ गते नै निर्देशन दिएको थियो । तर धितो लिलामी नगर्न भनेजस्तो ब्याज नबढाउन भन्न सजिलो छैन । त्यही भएर यसको लागि आफूहरु छलफलमा जुटेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । 

‘निजी घर निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले निश्चित समय दिएको छ, त्यो समयसम्म २ प्रतिशतबाट ब्याज बढाउन हुन्न भन्ने बारेमा पनि छलफल चलाएका छौं, अहिले निर्णय भैसकेको छैन’ अर्थ मन्त्रालयमा केही दिनअघि भएको पत्रकार सम्मलेनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘यसबारेमा राष्ट्रबैंकसँग सल्लाह गर्नुपर्छ, सकभर हामीले उहाँहरुलाई मार नपर्ने गरी काम गर्ने हो ।’

राष्ट्र बैंक भन्छ : ब्याज नबढाउनको लागि धेरै नियम परिवर्तन गर्नुपर्छ

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको म्यादन सकिएकाले भूकम्प पीडितबाट २ प्रतिशत भन्दा धेरै ब्याज नलेउ भनेर बैंकहरुलाई ताकेता गर्न सकिने अवस्था नरहेको बताएको छ । राष्ट्रबैंकले २ वर्षे पुनर्कर्जा बैंकहरुलाई दिएको थियो, त्यसको म्याद सकिएपछि बैंकहरुले साधारण अवस्थाका ऋणीलाई जस्तै १५/१६ प्रतिशतसम्म ब्याज भूकम्प प्रभावितबाट असुल गरिरहेका छन् ।

‘अब ब्याज नबढाउन् भन्नको लागि हामीले केही नियम र कार्यविधि नै परिवर्तन गर्नुपर्ने हुन्छ, त्यो तत्कालै हुने देखिएको छैन’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भन्नुभयो, ‘अहिलेलाई छलफल मात्रै भैरहेको छ, निर्णय आउन त ठूलै छलफल चाहिन्छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार १ हजार ११ जना भूकम्प पीडितले १ अर्ब ७९ करोड रुपैयाँ ऋण लगेका छन । ऋण लगेकामध्ये आधाभन्दा धेरैले ऋण तिरेका छैनन् । अहिले उनीहरु चर्को ब्याजको मारमा परेका छन ।

पुनर्निर्माणको २ वर्षभन्दा धेरै समयमा आधा घर पनि बनेनन् 

२०७२ सालको वैशाखमा भूकम्प गएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरेर फागुन देखि पुनर्निर्माणको काम सुरु भएकोे थियो । प्राधिकरणको तथ्यांकअनुसार ८ लाख ७ हजार परिवार सरकारको सहयोग रकम लिन योग्य भएका थिए । 

पुनर्निर्माणको काम सुरु भएको साढे २ वर्षसम्म जम्मा २ लाख ७० हजार ८ सय घर मात्रै बनिसकेका छन् । ५ लाख ४१ हजार घर बनिरहेका छन् । 

६ लाख २७ हजार परिवारसँग अनुदान सम्झौता भएकोमा अहिलेसम्म ६ लाख २२ हजारले पहिलो किस्ता लिइसकेका छन् । यस्तै ४ लाख ६९ हजारले दोस्रो किस्ताको रकम लिएका छन् भने २ लाख ५८ हजार परिवारले तेस्रो किस्ता लिइसकेका छन् । 

अहिलेसम्म बनिसकेका भन्दा बन्दै गरेका घर धेरै भएकाले कर्जा लिएका भूकम्प प्रभावितको ब्याज नबढाउन र नयाँ ऋण प्रवाह गर्न पनि भूकम्प पीडितको माग छ । 


 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया