पाँचथर : बाढी पहिरोले अवरुद्ध भएका सडक सञ्चालनमा आउन थाले

 कात्तिक १०, २०७८ बुधबार १२:२०:५६ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर– पाँचथरमा अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध भएका सडकहरु सञ्चालनमा आउन थालेका छन् । निवु खोलाले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम–यासोक खण्ड बुधबार (आज) बिहानैदेखि सञ्चालनमा आएको छ ।

बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रमा सिवा र निबु खोलाले धार परिवर्ततन गरी पुलको जग भत्काउँदा सडक कात्तिक ३ गतेदेखि अवरुद्ध थियो ।

यस्तै जिल्लाको फिदिम–फालोट सडकखण्ड पनि सञ्चालनमा आएको छ । अविरल बाढी पहिरोले क्षतिग्रस्त सडक मर्मत सम्भारपछि मंगलबारदेखि सञ्चालनमा आएको हो । यी सडकहरु ठप्प हुँदा दशैमा गाउँ गएकाहरु गाउँमै रोकिएका थिए । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया