एमसीसी सम्झाैताबारे सरकार जिम्मेवार बनेन : सुरेन्द्र पाण्डे

 पुष ५, २०७८ सोमबार १९:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाउनुभएको छ । उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढङ्गले अघि नबढाए देश राजनीतिक तथा आर्थिक सङ्कटमा फस्नसक्ने चेतावनीसमेत दिनुभयो ।

आज सोमवार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीसँच उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले देशमा राजनीतिक तथा आर्थिक सङ्कट आउन सक्ने तर्क गर्नुभएको हो । उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भीर असहमति रहेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनतामा अहिले एमसीसीलाई लिएर छलफल भइरहेको छ । तर संसदबाट अनुमोदन गरेर मात्रै त्यो पैसा दिन्छु भनेर अमेरिकाको एमसीसी फन्डले भनिरहेको कारणले अरू धेरै सहायता क्याबिनेटले निर्णय गरेर दुई पक्षीय निर्णयमा स्वीकृत गर्ने गरिन्छ । संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएको कारणले अहिले संसदमा नगइकन यो म दिन्नँ भन्ने र यो पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ । यही बीचमा सरकारले सम्भवतः यो अधिवेशन यति छिटो डाक्याे ? भन्दा एमसीसी पारित गर्न भन्ने प्रसङ्ग चलिराख्या छ । हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरूको बैठक विना निष्कर्ष टुङ्गियो । अहिले पनि एमसीसीलाई लिएर गर्नुहुँदैन, यसलाई लिनुहुँदैन भन्ने दलहरूको भनाइको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरूकै बीचमा पनि गम्भीर असहमती देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने ? भन्नेमा छन् । र यो घटनाले नेपालको अहिले देखापरेका कतिपय राजनीतिक सङ्कटलाई गहिराे बनाउने हाे कि भन्ने अवस्था पनि देखा पर्दैछ । यस्तो बीचमा नेपाल छ । नेपाल सरकारले कुनै देशले दिएको पैसा लियो वा लिएन भन्ने कुरा ठूलो कुरा होइन । तर यो राजनीतिक सम्बन्धमा गएर समस्या सृजना गरिदियो भने हामीले गम्भीर क्षति बेहाेर्नुपर्ने हुन्छ । जस्तो:– अमेरिकासँगको सम्बन्ध जटिल बनिदियो भने भोलि वैदेशिक सहायताको पक्ष कमजोर बन्न गएर नेपालले एक प्रकारको राजनीतिक र आर्थिक सङ्कट भोग्नुपर्ने अवस्था आउन सक्छ । हामीले बडो बुद्धिमतापूर्वक यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ । तर सरकार यो ढङ्गले जिम्मेवार बनेर काम गर्न खोजिरहेको छैन ।’

उपाध्यक्ष पाण्डेले देश आर्थिक सङ्कट उन्मुख रहेको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया