पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको प्रक्रियामा

 पुष ८, २०७८ बिहीबार ८:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको प्रक्रियामा रहेका छन् ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचना तथा पुनर्स्थापना कामको दायित्व पाएको प्राधिकरणको ६ वर्षे कार्यकाल भोलिदेखि सकिँदैछ ।

सरकारले २०७२ साल पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । पाँच वर्षे कार्यकाल अघिल्लो वर्ष सकिएको भए पनि एक वर्ष थप गरिएको थियो । तर पुनर्निर्माण काम पूर्ण रुपमा सकिएका छैनन्।

अब बाँकी रहेका धेरैजसो काम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने भएका छन् । पुनर्निर्माण प्राधिकरणसहित विभिन्न मन्त्रालय, विभाग एवं निकाय मार्फत सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने भएको हो ।

पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यहरुको जिम्मेवारी, विश्व बैंकसँगको सम्झौता बमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडीटीएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धी कार्य अब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्देशक समितिको पछिल्लो बैठकले गरेको निर्णय अनुसार प्राधिकरण अन्तर्गत भइरहेका काम, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण थालिएको बताउनुभएको छ ।

पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी सङ्ग्रहालय अन्तर्गतको रणोद्वीप दरबारको भौतिक निर्माणको कार्य सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ ।

पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाण्डौ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिने भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा गएको भदौ अन्तिम हप्ता नै हस्तान्तरण भइसकेका छन् ।

निर्देशक समितिको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण भएका बाँकी काम पनि समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले पुनर्निर्माणका बाँकी काममा बजेटको अभाव नहुने विश्वास पनि दिलाउनुभएको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया