माओवादी केन्द्रकाे महाधिवेशन : छोराछोरीलाई सरकारी स्कुलमा पढाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मका सुझाव

 पुस १४, २०७८ बुधबार १७:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रस्तावमाथि ११ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका छन् । अस्ति साेमवार बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएकाे प्रस्तावमाथि हिजो मङ्गलवार र आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूह बनाएर छलफल भएको थियो ।

आज दिउँसो साढे १ बजेदेखि टोली नेताले आफ्नो समूहको निष्कर्ष सुनाउन थालेकोमा अहिलेसम्म ११ जनाले निष्कर्ष सुनाएका छन् । बाँकीको निष्कर्ष भोलि बिहीवार प्रस्तुत हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

आज निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशका प्रतिनिधिले समाजवादको वकालत गर्ने पार्टी भएकाले माओवादीका सबै केन्द्रीय सदस्य र पदाधिकारीले आफ्ना छोराछोरी सरकारी स्कुलमा मात्रै पढाउनुपर्ने सुझाव दिएका छन् ।  यस्तै पार्टीका नेता/कार्यकर्ताको आचरणमा व्यापक सुधार गर्नुपर्ने सुझाव पनि दिएका छन् । यसै समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अँगाल्न पनि सुझाव दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको टोलीले कार्यकारी पदमा दुई कार्यकालभन्दा लामो समय बस्न नपाउने व्यवस्थालाई विधानमै उल्लेख गर्न सुझाव दिएका छन् । कार्यकारी पदमा रहँदा गल्ती गरेमा तत्कालै फिर्ता बोलाउने गरी संयन्त्र बनाउन पनि उनीहरूको सुझाव छ ।

माओवादीको महाधिवेशनअन्तर्गत भोलि बाँकी १४ वटा समूहका टोली नेताले निष्कर्ष प्रस्तुत गर्ने र अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादीको महाधिवेशन ११ गते आइतवारदेखि सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया