‘पेट्राेलियम पदार्थकाे गुणस्तरकाे विषयमा निगमलाई दाेष लगाउन मिल्दैन’

 पुष १९, २०७८ सोमबार १४:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताउनुभएको छ । 

हिजाे आइतवार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताउनुभयो । उहाँले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र सतर्क रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइप लाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले सिनामङ्गलमा सेन्ट्रल ल्याब रहेकाले त्याे ल्याबबाट गुणस्तर जाँच सुरु गरिसकेको र सिनामङ्गलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘गुणस्तरकाे विषयमा निगम सुतेको छैन । निगमले धेरै समाचार दिने भन्दा पनि हामी समाचार नै नआओस् भन्ने चाहन्छौँ ।’

उहाँले नेपालमा भारतबाट पाइप लाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताउनुभयो । उहाँले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढिसकेको बताउनुभयो ।

कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनुभयो । उहाँले आमनागरिकको सहजकर्ताको रूपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । अध्यक्ष भट्टराईले पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयाममा पनि ठूलो असर पर्ने बताउनुभयो ।

सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने प्रतिबद्धतासमेत गर्नुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया