कर्मचारीलाई 'ओभरटाइम' काे पैसा दिन नसके पनि खाजा भत्ता दिनुपर्छ : मन्त्री खाण

 पुष २३, २०७८ शुक्रबार २०:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी सङ्घसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । आज शुक्रवार गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको आठाैँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएकाे हाे । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयाे ।

गृहमन्त्री खाणले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि 'ओभरटाइम' को पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले अहिले नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाले कार्यालयको समयावधि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बढाएको बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयाे, ‘कतिपय जिल्ला प्रशासनले १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई आफैँले ९ देखि ५ बनाएका छन् । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ । राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तीमा हामीले काम गर्ने समयावधि बढाउँदा ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता त दिनुपर्छ ।त्यसैले अर्थमन्त्रालय यसमा उदार बनाेस् ।’

गृहमन्त्री खाणले कर्मचारीलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीले सरकारलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकाले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीको भएकाले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गर्नुभयो ।

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया