प्रधानमन्त्रीकाे निर्देशन : 'ओमिक्राेन' फैलिन नदिन उच्च सतर्कता अपनाउनू, 'स्मार्ट लकडाउन' बारे छलफल

 पुस २३, २०७८ शुक्रबार १९:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' काे सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

आज शुक्रवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाइ प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिन नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । 

उहाँले ओमिक्राेनकाे सङ्क्रमण दर फैलिन नदिन सीमा नाकालाई चुस्त बनाउन र सङ्क्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनुभयो । सङ्क्रमितको परीक्षण, उनीहरूकाे उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । बैठकले सङ्घीय सरकारले बेहाेर्ने गरी सङ्क्रमितको उपचार खर्च तत्कालका लागि भने पालिकाले बेहाेर्ने विषयमा पनि छलफल गरेको छ ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । चाँडै नै बुस्टर डाेजमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यही निर्देशन भयो ।’

बैठकमा कोराेना भाइरसकाे ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर 'स्मार्ट लकडाउन' गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालय बन्द गर्ने जस्ता 'स्मार्ट लकडाउन' का विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया