विद्यालय भौतिक रूपमा बन्द भए पनि अनलाइन पठनपाठनलाई निरन्तरता दिन सकिने

 पुष २६, २०७८ सोमबार १४:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) काे निर्णय कार्यान्वयन गर्ने भएको छ । 

मन्त्रालयमा आज साेमवार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको र बिदाको मोडालिटीबारेमा थप सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द हुनेछन् । केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ ।

विद्यालय बिदाका बेलामा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार अनलाइन माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन सक्ने मन्त्रालयले जनाएको छ । भौतिक रूपमा विद्यालय बन्द भए पनि अनलाइन पठनपाठनमा अवरोध नहुने प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार विद्यालय बन्द भएको बेलामा पनि सरकारको खोप कार्यक्रमअनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइनेछ । विश्वविद्यालयका परीक्षा सञ्चालन हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै वार्षिक तथा सेमेस्टर परीक्षा भौतिक दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग गरेर अङ्ग्रजी अक्षरकाे 'जेड' आकारको बसाइको सिट प्लान गरेर चलाउन सकिनेछ । अहिले परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो आइतवार आउँदाे माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

साथै सीसीएमसीसीको बैठकले २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न, बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बैठकले जिल्लाको अवस्था हेरेर आवश्यक कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया