ओमिक्रोन भेरियन्ट फैलिनुमा राजनीतिक दल जिम्मेवार छन् : डा. सुन्दरमणि दीक्षित

 पुष २६, २०७८ सोमबार १७:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनस्वास्थ्यविद् डा.सुन्दरमणि दीक्षितले नेपालमा कोरोना भाइरस (ओमिक्राेन) को नयाँ भेरियन्ट फैलिनुमा राजनीतिक दलहरू दोषी भएको बताउनुभएको छ । दलहरूले महाधिवेशन गर्दा सङ्क्रमण फैलिएको उहाँको भनाइ छ । 

आज सोमवार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डा. दीक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि राजनीतिक दलहरूलाई महाधिवेशन गर्न दिएकाले कोरोना सङ्क्रमण फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलको महाधिवशेनका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको हो ।’ दलहरूले कोरोना सङ्क्रमणलाई गम्भीर रूपमा नलिएकाले भयावह अवस्था आइसकेको डा. दीक्षितको भनाइ छ । 

आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिए पनि कार्यान्वयन नगरेको उहाँले गुनासो गर्नुभयो । कुनै पनि दल र दलका नेताहरूको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नभएको समेत उहाँले बताउनुभयो । सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको डा. दीक्षितको भनाइ छ । 

आफूले दुई वर्षअघि नै कोरोना भाइरसको जोखिमबारे जानकारी दिएको उहाँले सुनाउनुभयो । भाइरसलाई भ्रष्टाचारीको संज्ञा दिँदै डा. दीक्षितले भन्नुभयो, ‘भ्रष्टाचारीलाई जति नै मासियो भने पनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरूको लापर्बाहीले गर्दा नै भाइरसको सङ्क्रमण बढेको उहाँको भनाइ थियो । 

भुटानले सबै जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसक्दा नेपालले बालबालिकाहरूलाई खोप दिन नसकेको डा. दीक्षितले बताउनुभयो । 

खोप नै भाइरसको सङ्क्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै उहाँले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘एक महिनाभित्र खोप ल्याउन पर्यो । जतिसक्दो चाँडो खोप दिइन्छ त्यति नै चाँडो सङ्क्रमण  बढ्न पाउँदैन ।’ ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उहाँले बताउनुभयो । डा. दीक्षितले ओम्नी काण्ड, सुन काण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गर्नुभयो ।   

सचेत नागरिक हुनुको नाताले राम्ररी मास्क लगाउन, सामाजिक दुरी कायम गर्न उहाँको सुझाव छ । लकडाउन समस्याको समाधान होइन् भन्दै डा. दीक्षितले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गर्नुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया