राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण (तस्बिरहरू)

 पुष २७, २०७८ मंगलबार १४:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । 

विक्रम सम्वत् १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ ।

(वि.सं. १७७९–१८३१) शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यमा बाँडिएका बाइसे तथा चौबीसे राज्यलाई एकत्रित गरी एउटै देशको सृजना गर्नुभएको थियो । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्तिपछि नेपालमा आएको प्रजातन्त्रपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया