विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्छ : वरिष्ठ नेता पौडेल

 पुष २७, २०७८ मंगलबार २०:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ । 

ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज मङ्गलवार उहाँले भन्नुभयो, ‘विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।’ 

विकासका क्षेत्रमा पछि परेका ऋषिङ्गमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उहाँले हिजो आफूहरूले विकास निर्माणको सुरुवात गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताउनुभयो । उहाँले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गर्नुभयो । 

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवर्द्धनका लागि सरकारले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिनुभयो । खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले पालिकाे खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफीबाट पुरस्कृत गर्नुभयो । म्याराथनको उपाधि तीर्थराज तामाङले हात पार्नुभएकाे छ । ४२ दशमलव पाँच किलोमिटर लामो दुरीको म्याराथन दुई घण्टा ५२ मिनेटमा पार गर्दै उहाँले उपाधि जित्न सफल हुनुभएको हो । त्यसैगरी देवराज महतराले दुई घण्टा ५४ मिनेटमा दुरी पार गरी द्वितीय हुनुभएकाे छ । उहाँहरू दुवै जना त्रिभुवन आर्मी क्लबका हुनुहुन्छ । 

त्यसैगरी सुमन कुलुङ राईले तृतीय र राजन मेयङग्बाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएकाे छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमशः ६५, ४०, २५ र १० हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया