‘केही जिल्लामा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई देखाएर स्वार्थ पूर्ति गर्न थाले’

 पुस २९, २०७८ बिहिबार १४:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विशेष अदालत बार एसाेसिएशनका अध्यक्ष एवम् अधिवक्ता चूडामणि पौडेलले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले राजीनामा नदिँदा केही जिल्लामा जबरालाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न थालेको बताउनुभयो । 

आज बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एसाेसिएशन, सर्वोच्च अदालत बार एसाेसिएशन, विशेष अदालत बार एसाेसिएशन लगायतका पदाधिकारी तथा कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरेकाे विराेध प्रदर्शनमा अधिवक्ता पाैडेलले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘चोलेन्द्रशम्शेरको कारणले, नालायकीपनको कारणले, अहिले कही जिल्लामा न्यायाधीशहरूले चोलेन्द्रशम्शेरलाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न थालेका कुरा बाहिर आइरहेको छ । चोलेन्द्रशम्शेरको भ्रष्टाचारीपनलाई छेउमा राखेर न्यायपालिकाप्रति दुस्साहस राख्ने र कुचेष्टा राख्ने प्रयत्न यदि कसैबाट हुन्छ भने त्यसको नेपाल बार एसाेसिएशन जोडदार विरोध गर्दै यो आन्दोलनलाई अझै सशक्त बनाउने प्रण गर्दछ । आम न्यायप्रेमी जनता र आम सेवाग्राहीको पक्षमा भएको यो आन्दोलनलाई अन्तिम निष्कर्षमा पुर्‍याएपछि मात्रै नेपाल बारले विश्राम लिनेछ । यो हाम्रो प्रतिबबद्धता हो ।’

कार्यक्रममा नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरूको वृत्ति विकासमा, न्यायाधीशहरूको सरुवाका काम रोकिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताउनुभयो ।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानुन व्यावसायीहरूले २५ जनामात्रै भेला भएर याे आन्दोलनलाई निरन्तरता दिएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया