चिलिमे–त्रिशूली प्रसारण लाइनको काम अबकाे ७ महिनाभित्र सक्ने लक्ष्य

 पुस ३०, २०७८ शुक्रबार १३:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाले अहिले टावर निर्माणको कामलाई गति दिएको छ ।  प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाहरूको प्रसारण समय नजिकिँदै जाँदा आयोजना निर्माणमा गति दिइएको हो । 

जिल्लामा निर्माण भइरहेका आयोजनाहरूको विद्युत् उत्पादन हुने समय नजिकिँदै गएपछि आयोजनामा दबाब परेको छ । अबको सात महिनाभित्रमा आयोजनाको काम सकाउने गरी काम गरिरहेको आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताउनुभयो । ‘हामीले कामलाई गति दिएका छौँ’, उहाँले भन्नुभयो, ‘अबको सात महिनाभित्र काम सकाउने लक्ष्य छ । 

गोल्जुङदेखि 'थ्री–बी' हबसम्म ७९ वटा टावर रहने बताइएको छ । जसमा ३३ वटा टावरको फाउण्डेशनको काम सकिएको छ । नाै वटा टावर खडा भइसकेको छ । दुई वटा निर्माण हुँदैछ । 

२०७४ पुस ५ देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०७६ जेठ ३० मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो । भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको, सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायतका कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ । 

रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७४ कात्तिक२७ मा ठेक्का सम्झौता भएको थियो । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा रहेकाे गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेकाे त्रिशूली 'थ्री–बी' हबसम्म प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइनको दुरी साढे २७ किलोमिटर रहेको छ । 

गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली 'थ्री–बी' को हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । गोल्जुङदेखि 'थ्री–बी' हबसम्म ७९ वटा टावर रहने बताइएको छ । 

प्रसारण लाइन र सब–स्टेशन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्ल्यूको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाईंकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युतकाे बिजुली जोडिने छ । 

यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावटको रसुवा भोटेकोसी, १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ४२ दशमलव ५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङ खोला, १४ दशमलव ८ मेगावटको माथिल्लो सान्जेन, ६ दशमलव ४२ मेगावटको माथिल्लो मैलुङ 'ए' जलविद्युत् आयोजनाको बिजुली जोडिने छ । यो प्रसारण लाइनमा ७ सय मेगावट बिजुली जडान गर्न सकिने छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया