लिपुलेकमा भारतले बलमिच्याइँ गर्याे, सरकारले सशक्त ढङ्गले भारतसँग कुरा गर्नुपर्छ : प्रदीप ज्ञवाली

 पुस ३०, २०७८ शुक्रबार १८:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले लिपुलेकमा सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताउनु भएकाे छ ।

आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले भारतले नेपालको भूभागमा बलमिच्याइँ गरेको भन्दै देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने बताउनु भएकाे छ । 

उहाँले भन्नुभयो – ‘देशको सीमाको बारेमा बोल्न सक्दैन, सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने त्यो सरकार, सरकार जस्तो रहँदैन । सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ । हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग कुरा गरोस् । भारतले यो ढङ्गको बलमिच्याइँ पनि गर्नुहुँदैन । त्यो नेपालको भूभाग हो, त्यहाँ एकतर्फी ढङ्गले कुनै पनि संरचना बनाउन मिल्दैन । सरकारले सशक्त ढङ्गले नेपालको राष्ट्रियहितको पक्षमा आवाज उठाउनुपर्छ।’

उहाँले सरकारले पालिका तहको चुनाव पन्छाउन खोजेको आरोप लगाउनु भएको छ । ज्ञवालीले पालिकाको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको बताउनुभयो ।

उहाँले सरकारले पालिका तहको निर्वाचनलाई पन्छाउन खोजेको आशङ्का पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताउनु भएकाे छ । 

उहाँले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायालय सुधारको लागि नभएको टिप्पणी गर्नुभयो । एक व्यक्तिलाई प्रधानन्यायाधीशबाट हटाएर अर्को व्यक्तिलाई ल्याउनका लागि मात्रै याे आन्दोलन केन्द्रित रहेको उहाँले बताउनुभयो ।

उहाँले संसद् चल्न दिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सकारात्मक छलफल भएको भन्दै आउँदाे दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया