मन्त्री झाँक्रीको एक सय दिनका ३७ बुँदे कार्यप्रगति सार्वजनिक

 माघ ३, २०७८ सोमबार १७:६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । 

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी भन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गर्नुभएको छ । 

उहाँले चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिनुभएको छ ।  ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत रहेको छ । 

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । उहाँले नीतिगत सुधार गर्ने क्रममा विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उदेश्यहरुलाई अन्तिम रुप दिइ प्रदेश र पालिका लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको बताउनुभयो । 

त्यस्तै युटिलिटी करिडोर सम्बन्धी व्यवस्था र शहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयहरुमा दिशाबोध हुने गरी शहरी विकास विधेयकको मस्यौदालाई पनि अन्तिम रुप दिइएको उहाँले जानकारी दिनुभयो । 

उहाँले आफू मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै वाग्मती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको, शहरी पूर्वाधार विकास निगम/ नगर वित्त निगम स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको र उपत्यकाका सबै नगरपालिकामा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्डमा एकरुपता कायम गर्न विद्यमान मापदण्डको परिमार्जित मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो । 

मन्त्री झाँक्रीले मन्त्रालय र अन्तर्गतका निकायहरु बाट हुने खरिद कार्य उपभोक्ता समिति मार्फत गराउन रोक लगाइएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया