अत्यावश्यक नपरी नागरिक घर बाहिर निस्कन छाडे, सडकमा ४० प्रतिशत मात्रै गाडी

 माघ ८, २०७८ शनिबार १६:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जोर बिजोर प्रणाली तथा कोरोना संक्रमण बढेका कारण काठमाण्डौ उपत्यकामा चल्ने गाडीको संख्या घटेको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी मात्रै चलेका छन् ।

जोर बिजोर प्रणाली नमान्ने दुई सय ३० वटा सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने तीन वटै जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । औषधि एवं स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ ।

यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । यसबीच कोरोना संक्रमण निकै बढेका कारण नागरिक स्वयं पनि अत्यावश्यक काम नपरी सडकमा ननिस्किएका प्रहरीले जनाएको छ । अरु बेला जाम हुने कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सोह्रखुट्टे, लैनचौर, कान्तिपथ, जमल, सिंहदरबार, थापाथली, नयाँ वानेश्वर, पुतलिसडक लगायतका ठाउँमा आज निकै कम संख्यामा गाडी चलेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सामान्य अवस्थाको तुलनामा पछिल्लो एक हप्तादेखि सडकमा ४० प्रतिशत मात्रै गाडी गुडिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले उज्यालोलाई जानकारी दिनुभयो । संक्रमण उच्च हुँदा सडकमा दिनदिनै गाडीको संख्या घट्दै गएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया