दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे यू–१९ महिला टी–२० व...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
आज सोमवार हामीसँग कुराकानी गर्दै महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताउनुभयो । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउन सक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक र जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकाले निरन्तर सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकाले ओमिक्रोन कमजोर भयो, डेल्टा भेरियन्टलाई विस्थापित गर्याे भनेर ढुक्क हुन नसकिने बताउनुभयो । विश्वव्यापी रूपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । अर्को भेरियन्ट योभन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उहाँको भनाइ छ ।
डा. पाैडेलले भन्नुभयो, ‘विश्वव्यापी तथ्याङ्कहरूले ओमिक्रोन धेरैजसाे देशमा छिटो फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने देखाएकाे छ । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनले डेल्टालाई विस्थापन गरे पनि यो भाइरस जति धेरै फैलिन्छ, जति धेरै ठाउँमा, धेरै व्यक्तिमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ । जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हेर्याैँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो । आफ्नो सर्भाइभलका लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुई वटा प्रकारका हुन सक्छन् । एउटा यो भन्दा जटिल हुन सक्छ । कडा हुन सक्छ । अथवा यो भन्दा कमजोर हुन सक्छ । कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो । तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टीका साथ यो पछि आउने भेरियन्ट योभन्दा कमजोर नै आउँछ भन्न सक्ने अवस्था छैन । त्यस कारण विश्व स्वास्थ्य सङ्गठनले पनि यो इन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन । जोखिम कायम नै छ ।’
महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा सक्रिय सङ्क्रमित रहँदा संस्थागत आइसोलेशनमा झन्डै १२ सय जनामात्र रहेको र अन्य सङ्क्रमित घरमै आइसोलेशनमा बसिरहेको बताउनुभयो । अहिले दैनिक दुई सय जना सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) मा उपचार गर्नुपरेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टिलेटर आवश्यक परेको उहाँले जानकारी दिनुभयो ।
यस्तै जनवरी महिनाको अन्तिम अर्थात् माघ महिनाको मध्यमा पुग्दा सङ्क्रमित हुने र अस्पतालको सेवा चाहिने सङ्क्रमितको सङ्ख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।