सरकारकाे सम्पत्ति निजी क्षेत्रलाई प्रयाेग गर्न दिँदैनाैँ : मन्त्री पाैडेल

 माघ १६, २०७८ आइतबार १३:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनुभएको छ । 

आज आइतवार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताउनुभएको हो । उहाँले विभिन्न सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताउनुभयो । उहाँले सरकारी सरचनाहरू नियम विपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गर्नुभयाे । 

मन्त्री पौडेलले भन्नुभयो, ‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षाको विकास सुरु भयो त्यतिबेलादेखि नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रूपमा छ । यहाँ भएका भौतिक वस्तुहरू खासगरी पुरातत्त्वसँग सम्बन्धित वस्तुहरूको सुरक्षाको कुरा, संरक्षणको कुरा, पुराना पुस्तकहरूको संरक्षण गर्ने कुरा अहिले मन्त्रालय मातहत भएको हुनाले यसको स्वरूप र प्रकृति हेर्न यहाँ आएँ । त्यसका साथै यसको बाहिरकाे जमिनको कुरालाई लिएर केही सामाजिक सञ्जाल, पत्रिकामा समाचार प्रकाशित भएको पनि जानकारी पायाैँ । मन्त्रालय मातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनका लागि बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयकाे कुराहरू आएको हुँदा यसमा मेरो पनि ध्यानाकर्षण भएर कुरा हो । कुनै निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यस प्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन । कहीँ कतै भएकाे भए हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ ।’

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरू व्यवस्थित गर्नका निम्ति भौतिक ठाउँको अभाव भएको समेत बताउनुभयो । उहाँले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्ने गरी लाग्न पनि निर्देशन दिनुभयो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम भइरहेकाे छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्नेबारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ । केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ रहेकाे स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया