नारायणहिटी गेटबाहिरकाे चुहिने छाना मर्मत गर्न, पुराना गाडीमा रङ्ग लगाउन मन्त्री आलेकाे निर्देशन

 माघ २०, २०७८ बिहीबार १८:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिनुभएको छ । 

आज बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत गर्न निर्देशन दिनुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्ग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको बताउनुभयो ।

त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उहाँले बताउनुभयो । त्यस्तै सङ्ग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथसाथै रङ्गरोगन गरेर राख्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिनुभएको छ । 

उहाँले भन्नुभयो, ‘यहाँ ठाउँ–ठाउँमा बत्ती पनि जीर्ण भएको अवस्था छ । ती बत्तीकाे मर्मत गर्नुपर्छ । अनि गेटको बाहिरकाे छाना चुहिने रहेछ । त्यसलाई पनि तुरुन्त मर्मत गर्ने र यहाँ भएका पुराना गाडी मर्मत गरेर, रङ्गराेगन गरेर म्युजियममा राख्ने लगायतका काम गर्नुपर्ने देखियाे । आउँदाे बजेटमा नारायणहिटी सङ्ग्रहालयभित्र भएका अधुरा काम सम्पन्न गरिनेछ ।’

मन्त्री आलेले विगतमा सङ्ग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काइसकिएको बताउनुभयो । सङ्ग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आउँदाे आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । 

बतास समूहलाई नारायणहिटी दरबार सङ्ग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया