बेलायती महारानी एलिजाबेथको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न, आजै समाधिस्थ गरिने

 असोज ३, २०७९ सोमबार १९:३१:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको छ । राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टरमा महारानी एलिजाबेथको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको बीबीसीले जनाएको छ ।

समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित सयौँ स्वदेशी तथा विदेशी पाहुनाहरू उपस्थित थिए । राजा चार्ल्स तृतीयले आफ्नी आमाको शव पेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गर्नुभयो । महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८ औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ ।  प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गर्नुभयो ।

लण्डनमा रहेको एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवङ्गत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको छ । विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू हुनेछन् । त्यसपछि नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उहाँका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिने बीबीसीले जनाएको छ ।

७० वर्षसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया