इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

 असोज ७, २०७९ शुक्रबार ७:३३:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो ।

१७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।

एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले सुरक्षाकर्मीले भिडमाथि गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् । इरानीले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनले उग्र रुप लिएको छ ।

अन्तिम अपडेट: असोज ७, २०७९

तपाईको प्रतिक्रिया