लुम्बिनी मागीखाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् : मन्त्री किराँती

 माघ १५, २०७९ आइतबार १७:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

आइतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभएको हो । उहाँले लुम्बिनीजस्तो पवित्र स्थलको काम इमानदारिताका गर्न आग्रह गर्नुभयो ।

मन्त्री किराँतीले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागीखाने भाँडो नभएर बौद्ध धर्मलम्बीहरूकाे नाभी तथा ढुकढुकी भएको बताउनुभयो । उहाँले कर्मचारीलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । लुम्बिनीकाे विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन छैन ? संविधानअनुसार कानुन छ, कानुनअनुसार संरचनाहरू निर्माण भएका छन्, संरचनाहरूमा कर्मचारी छन् तर काम किन छैन ? अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेन्डरअनुसार कार्ययोजना चाहिन्छ । लुम्बिनीलाई विकास गर्ने नाममा मागीखाने भाँडो बनाउनुभएन ।’
मन्त्री किराँतीले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकारले कर्मचारीबाट क्यालेन्डरअनुसार कामको परिणाम ल्याउने दाबी गर्नुभयाे । 

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजनाभन्दाबाहिरका संरचना बनाउनुपर्ने बाध्यता भए पनि कतिपय बनाउनुनपर्ने संरचना बनाइएको बताउनुभयो । लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गा अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरूलाई बाँडफाँट भएकाले समस्या भएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया