सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

 माघ १७, २०७९ मंगलबार १४:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।

मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभएकाे हाे । उहाँले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ । सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको छ । ’

प्रधानमन्त्री प्रचण्डले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकार र सञ्चारमाध्यमको पेसागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने दाबी गर्नुभयाे । त्यस्तै पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रूपमा स्थापित गरिने बताउनुभयो । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडि बढेको उहाँले जिकिर गर्नुभयाे । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै उहाँले सरकारको कार्यभारलाई व्यवस्थितरूपले सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले सूचना तथा समाचार सम्प्रेषणमा नेपाल टेलिभिजनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुने गरी अगाडि बढेको बताउनुभयो । त्यस्तै राज्य प्रणालीमा परिवर्तन भएअनुरूप नेपाल टेलिभिजनले पनि आफूलाई रूपान्तरण गर्दै जानु सराहनीय काम भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया