अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्नुपर्छ : स्वास्थ्य मन्त्री

 माघ १७, २०७९ मंगलबार १४:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

मङ्गलवार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाइ प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गर्नुभयो ।

मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताउनुभयो । उहँले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । पछिल्लो समय सात प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ । यसतर्फ हामीले कुनै पनि बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नुहुँदैन । मन्त्रालयले के सहयोग गर्नुपर्छ, गर्नेछ । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरू स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ । अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्छ, हामी त्यसमा आत्मनिर्भर बन्ने योजना बनाउनुपर्छ । अत्यावश्यक औषधिहरू नेपालमै बनाउने कार्ययोजना बनाउनुपर्छ । व्यापारीहरूले फार्मेसी दर्ता गरेका छाैँ, नवीकरणका लागि हरेक वर्ष काठमाण्डाै जानुपर्छ भन्ने गुनासाे गरेका छन् । यसलाई झन्झटिलो बनाउने होइन, गुणस्तरीय सेवा दिने कुरामा, नियमन र अनुगमनको कुरामा निर्मममतापूर्वक कडाइ गर्नुपर्छ । तर दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुराहरूमा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ ।’ 

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया