स्वास्थ्यमा कुनै 'कम्प्रमाइज' नगर्नुस् : राज्यमन्त्री कार्की

 माघ १७, २०७९ मंगलबार १५:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री कार्कीले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्ट्स, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनुभयो ।

राज्यमन्त्री कार्कीले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै 'कम्प्रमाइज' गर्न नहुने बताउनुभयो । उहाँले देशभित्रै औषधि उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बजारमा अहिले धेरै विज्ञापनहरू सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरीका मालिस गर्ने तेल, दाँत सेतो पार्ने औषधि, कपाल उमार्ने तेल र आयुर्वेदिक औषधिको गुणस्तर मापन कसले गरिरहेको छ ? डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ । यसमा हामीले कत्ति पनि कम्प्रमाइज गर्नु हुँदैन ।’

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन शपिङ गर्ने कुरा अत्यधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन शपिङ झनै भद्रगोल हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया