चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

 माघ २४, २०७९ मंगलबार १३:३१:१९ | रासस
unn.prixa.net

चितवन - कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत् कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । 'किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ', उहाँले भन्नुभयो । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ । 

तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले ४० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । 'सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो', उहाँले भन्नुभयो ।

गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । 'विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो', अध्यक्ष गुरूङले भन्नुभयो ।  कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ । 

'पालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालनको तयारीमा छौँ', उहाँले भन्नुभयो, 'बजेटको व्यवस्थापनका लागि पटक–पटक सङ्घीय सरकार धाउनुपर्यो ।' इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुने गरेको छ । गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया