राप्ती प्रादेशिक अस्पतालमा अझै जडान भएन ‘डायलासिस मेसिन’

 फागुन ७, २०७९ आइतबार ९:५८:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

दाङ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकाे साउनमा दाङको तुलसीपुरमा रहेकाे राप्ती प्रादेशिक अस्पतालमा आठ वटा ‘डायलासिस मेसिन’ पठाएको थियो ।  तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको सात महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेकाे छैनन् ।

मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि २५–३० लाख रुपैयाँ खर्च लाग्छ । त्यस्तै अहिले चार  नर्सिङ कर्मचारीमात्रै कार्यरत हुनुहुन्छ । तर मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी चाहिन्छ । अर्कातर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ । अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा ओम अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।'

पूर्व स्वास्थ्य राज्यमन्त्री  हीराचन्द्र केसी प्रादेशिक अस्पताललाई आठवटा डायलासिस मेसिन उपलब्ध गराउनुभएको थियो । तीमध्ये तीन मेसिन बाँकेमा रहेकाे भेरी अस्पतालमा लगिएको छ । तर ती मेसिन फिर्ता गर्ने सर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा अर्यालले बताउनुभयो ।

अहिले अस्पतालमा पाँच डायलासिस मेसिनमध्ये चार मेसिनमात्रै सञ्चालनमा छन् । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन । अन्य पाँचवटा मेसिन पनि जडान हुन नसक्दा धेरै मिर्गौलारोगीले सास्ती भोग्नुपरेको छ । अहिले ८४ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाण्डाै, लमही, घोराही, बुटवललगायतका ठाउँमा डायलासिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलासिस गरिरहेका छन् ।

आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलले बताउनुभयो । 'अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ', उहाँले भन्नुभयो, 'अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।'

कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले चारजना स्टाफ नर्समात्रै कार्यरत छन् । नयाँ मेसिन जडान भएपछि १० नर्सिङ स्टाफ चाहिन्छ । त्यस्तै आवश्यक उपकरणका लागि २५–३० लाख रुपैयाँ लगानी लाग्छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया